सातै प्रदेशका विद्यार्थी पढाउँदै नेत्रलाल बहुप्राविधिक शिक्षालय



गोकर्ण पौडेल
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४मा रहेको नेत्रलाल बहुप्राविधिक शिक्षालयले सातै प्रदेशका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा पढाउँदै आएको छ । नेत्रलाल प्रतिष्ठानको समन्वयमा सल्यानमा शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालय स्थापना गरिएको थियो । राजनीतिज्ञ,साहित्यकार तथा शिक्षा क्षेत्रमा लामो समयसम्म कार्यरत रहेका नेत्रलाल अभागीको सम्मान सम्झानास्वरुप २०७५ सालमा शिक्षालय स्थापना गरिएको थियो। शिक्षालयका प्रमुख नन्दप्रसाद चौलागाईले हाल तीन सय ६८ जना विद्यार्थीहरुले सिभिल र कृषि भेटेनेरी विषय अध्ययन गरिरहेको बताउनुभयो । प्रतिष्ठानले दाङ,बाँके र सल्यानमा कार्यक्षेत्र बनाएर अभागीको सम्झनामा शिक्षालयलगायत सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवम नेकपा एमालेका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले बताउनुभयो । उहाँले शिक्षालय स्थापनाका क्रममा जग्गा खोजी गरिएको र सल्यानमै जग्गा प्राप्ति भएकाले त्यहाँ स्थापना गरिएको बताउनुभयो । उहाँले शिक्षालयको भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापनका साथै थप विषयहरु पठनपाठनका लागि समेत प्रयाुसरत रुहने बताउनुभयो ।

प्रतिष्ठानका महासचिव एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले शिक्षालयमा बजारमा मागअनुरुपका विषय अध्यापनका लागि पहल गरिने बताउनुभयो । उहाँले यस प्रदेशमा रहेका प्राविधिक शिक्षालयहरुका अध्यापन गराइने विषयबाहेक अन्य विषय अध्यापनका लागि प्रक्रिया अघि बढाइने बताउजुभयो । हाल शिक्षालयमा ८ जना छात्रा र ३२ जना छात्रहरुले निशुल्करुपमा आवासीय व्यवस्थासहित पढ्दै आएका छन् । शिक्षालयमा १४ जनाको जनशक्ति रहेको छ । जुन जनशक्ति पर्याप्न नहुँदा शिक्षालयमा समस्या सिर्जना भएको छ । शिक्षालयमा स्मार्ट बोर्ड,पुस्तकालय,कम्प्युटर ल्याब,प्रयोगात्मक अभ्यासका लागि पशुपक्षी फर्म समेत रहेको छ । शिक्षालय स्थापनार्थ सहयोग गर्दै आउनुभएका इन्द्र शर्माले प्रतिष्ठानकै पहलमा शिक्षालय स्थापना भएकाले यसको विकासमा समेत प्रतिष्ठानको विशेष भूमिका रहने बताउनुभयो । स्थानीय निमबहादुर नेपालीले प्राविधिक शिक्षालय सल्यान जिल्लाका लागि गौरवको विषय रहेकाले यसको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानीय रमेश गौतमले पहाडी क्षेत्रमा समेत प्राविधिक शिक्षालय स्थापना गरेर यस क्षेत्रको आर्थिक,सामाजिक,भौतिक विकासमा विशेष योगदान दिएको बताउनुभयो । उहाँले शिक्षालयमा विषय थप गरेर विद्यार्थी संख्या बढाउनुपर्नृ बताउनुभयो । शिक्षालयले यस क्षेत्रको सौन्दर्यताका साथै आर्थिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो । जिल्लामा सामुदायिक विद्यालयहरुमा प्राविधिक धारका विषयहरु पढ्ने विद्यार्थी कम भइरहेको अवस्थामा यस शिक्षालयमा भने प्रत्येक वर्ष कोटा पूर्ण हुने गरेको शिक्षालयका प्रमुख नन्दप्रसाद चौलागाईले बताउनुभयो । शिक्षालयले उत्कृष्ट नतिजा ल्याउदै आएको छ । शिक्षालयमा विद्युत र खानेपानीका साथै त्यहाँ पुग्नका लागि सडकको समस्या रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्