गर्भावस्थामा दाँत र गिजाको समस्या किन हुन्छ ?



गर्भावस्थामा समग्र स्वास्थ्यका साथै दाँत र मुखको हेरचाह गर्न पनि उत्तिकै महत्वपूर्ण छ । गर्भावस्थामा हुने हार्मोनल परिवर्तनले महिलामा दाँत र गिजाको समस्या बढ्ने गर्छ । आमाको मुखको स्वास्थ्य अवस्था राम्रो भएन भने बच्चाको दाँत र गिजाको विकासलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिलाले आफ्नो दाँत र गिजाको विशेष हेरचाह गर्न आवश्यक छ ।

गर्भावस्थामा देखिने दन्त समस्यालाई ‘प्रेग्नेन्सी जिंजीभाइटिस’ भनिन्छ । यो एक प्रकारको गिजाको रोग हो जुन गर्भावस्थाको समयमा हार्मोनको गडबडीले हुन्छ । गिजा रातो हुने, सुन्निने र गिजाबाट रगत बग्ने लक्षण यसबेला देखिन्छ ।

यसलाई दाँत सफा गर्ने विधि इस्केलिङबाट उपचार गर्न सकिन्छ । समयमा उपचार भएन भने यसले गिजासम्बन्धी गम्भीर समस्या समेत निम्त्याउन सक्छ । दाँत खिइने समस्या पनि गर्भावस्थामा देखिने अर्को समस्या हो । हार्मोनको गडबडीले दाँतमा प्लायककको मात्रा बढ्न सक्छ । जसको समयमै उपचार नगरे दाँतमा हर्सा लाग्न सक्छ । जसले गिजा सुन्निने, रगत बग्ने, मुख तथा सास गनाउने र दाँत हल्लिने जस्ता समस्या ल्याउँछ ।

चीकीत्सकका अनुशार गर्भवती महिलाले प्लायक निर्माण हुनबाट जोगिनका लागि फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग गरी दिनको दुईपटक अनिवार्य दाँत माझ्नुपर्छ, साथै डेन्टल फ्लसको पनि प्रयोग गर्नुपर्छ ।

यसैगरी मर्निग सिक्नेस पनि गर्भावस्थामा देखिने समस्या हो । बान्ताका बेला आउने पेटको एसिडले दाँतमा रहेको इनामेललाई मेटाउन सक्छ, जसले दाँतको संवेदनशीलता बढाउँछ र दाँत खिइने समस्या ल्याउँछ । मर्निग सिक्नेस अनुभव गर्ने गर्भवती महिलाले बान्तापछि मुख कुल्ला गर्ने र सकेसम्म चाँडो दाँत माझ्नुपर्छ ।

गर्भावस्थाको समयमा लिइने औषधिको बारेमा राम्रो ध्यान दिनुपर्छ । कतिपय औषधिको सेवनले मुखको स्वास्थ्यमा असर पुग्न सक्छ । वाकवाकी र बान्ताको उपचारमा प्रयोग गरिने केही औषधिले मुख सुक्खा बनाउने भएकाले दाँत खिइने र गिजाको समस्या आउन सक्छ । गर्भवती महिलाले आफ्नो दन्त चिकित्सक र प्रसूति चिकित्सकसँग आफूले लिइरहेको कुनै पनि औषधिको विषयमा परामर्श गर्नुपर्छ ।

आफ्नो दाँत र मुखको राम्रो हेरविचार गर्नु भनेको आफ्नो मात्र नभएर आफ्नो बच्चाको दाँत र गिजाको विकासलाई पनि सहयोग पुर्‍याउनु हो । गिजासम्बन्धी रोग निम्त्याउने ब्याक्टेरियाहरु पनि जन्मको समयमा बच्चामा सर्न सक्छ, जसले बच्चामा दाँत र गिजाको रोगको जोखिम बढाउन सक्छ ।

गर्भावस्थाको समयमा सम्भव भएसम्म दाँत तथा मुखसम्बन्धी केही उपचार बन्द नै गर्नुपर्छ । जस्तै, गर्भावस्थाको पहिलो त्रैमासिकमा एक्सरे गर्नुहुँदैन । दाँत सफा गर्ने विधि ब्लिचिङ पनि यो अवस्थामा गर्नु हँदैन । त्यसैले बच्चा जन्माउने निधो भएपछि पहिला आफ्नो दन्त समस्या के छ पत्ता लगाई पहिले नै उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्