तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव लगाउनुको उद्देश्य स्पष्ट पारेको छ । मेला लगाउने तयारी गरिरहेका बेला विरोधका स्वरहरू आउन थालेपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर वाणिज्य संघले उद्देश्य स्पष्ट पारेको हो ।
माघ २४ देखि फागुन ८ गतेसम्म सञ्चालन हुने संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, मानव सेवा आश्रम र आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने र राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताउनुभयो ।
विगतमा अन्य सङ्घसंस्थाले महोत्सव लगाउँदा किन विरोध गरेको हो ? पत्रकारहरुले सोधेको प्रश्नमा अध्यक्ष चालिसेले व्यापारीलाई मर्का नपर्ने गरि मेला सार्न मात्रै आग्रह गरेको बताउँनुभयो। महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने सम्मेलनमा जानकारी दिईएको हो ।
सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले मेलालाई सफल बनाउका लागि सञ्चार माध्यमको तर्फबाट पूर्ण रुपमा सहयोग रहने बताउनुभयो । वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले सहजीकरण गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रुपबहादुर खत्रीले गर्नुभएको हो ।