लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गर्नु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर उहाँले आफ्नो जन्मदिन मनाउनु भएको हो ।
बुधवार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र उपाध्यक्ष कमलापती चौधरीले मुख्यमन्त्रीलाई जन्मदिनको अवसरमा आँपको विरुवा उपहार प्रदान गर्नु भएको थियो । उक्त विरुवा मुख्यमन्त्री निवासको परिसरमा रोपिएको छ ।
विरुवा रोपण कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सरकारका सचिवहरूको सहभागिता रहेको थियो ।
श्रीखण्डमा औषधीय गुण हुने गर्दछ । यो विरुवा तराई, पहाड तथा हिमपात नहुने क्षेत्रमा सजिलै हुर्कन सक्ने प्रजाति हो । श्रीखण्डको काठ र तेल दुवै अत्यन्तै उपयोगी र प्रसिद्ध मानिन्छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यसको खेती हुँदै आएको छ ।