नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको आयोजनामा, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको सहकार्य र विरेन्द्र माध्यमिक विद्यालय, तुलसीपुर–१, भ्युडहर सुनपुरको व्यवस्थापनमा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।
‘रक्तदान गरौं, आशा दिऔं, हामी सँगै जीवन बचाउँछौं’ भन्ने मूल नारासहित कार्यक्रम ५९औं रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजित गरिएको थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाका सभापति देवा डाँगीको अध्यक्षता र जिल्ला शाखा दाङका उपसभापति तथा तुलसीपुर उपमहानगर जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका प्रमुख अतिथि केसीले सहभागीहरूलाई रेडक्रसको इतिहास, रक्त सञ्चार सेवाको स्थापना र यसको आवश्यकता, रक्तदानका फाइदा, रक्तदान गर्न मिल्ने तथा नमिल्ने अवस्था, रक्त समूहसम्बन्धी जानकारी लगायतका विषयमा मोटिभेसनल शैलीमा प्रशिक्षण दिनु भएको थियाे ।
विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले रेडक्रस उपशाखालाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्व बढाउने उल्लेख गर्नुभयाे । उहाले विद्यालयमा पहिलोपटक भएको यो कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझावसमेत दिनुभयाे ।
कार्यक्रम विद्यालयको जुनियर रेडक्रस सर्कल अध्यक्ष कोपिला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। त्यसक्रममा जु.रे.स. शिक्षक नायक मानबहादुर बुढा, शिक्षक लेखनाथ शर्मा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण उपशाखाका सदस्य केशर बहादुर ओलीले गर्नु भएको थियाे।
कार्यक्रममा विद्यालयका शिक्षक तथा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थी गरी ७५ जनाको सक्रिय सहभागिता रहेको थियो।


