सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ‘परिवर्तन बाल क्लब’ गठन



 


समृद्ध समाजको समन्वय र सहजीकरणमा ‘परिवर्तन बाल क्लब’ गठन गरिएको छ। बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्लबको गठन गरिएको हो।

शुक्रबार सम्पन्न गठन कार्यक्रममा सहकर्मी समाजका संस्थागत विकास अधिकृत पुनाराम पन्थी, समृद्ध समाजकी अध्यक्ष दिलकुमारी बि.क., कार्यक्रम व्यवस्थापक प्रमोद के.सी. तथा वरिष्ठ सामुदायिक प्रशिक्षक सुशिला चौधरीको  उपस्थिति रहेको थियो।

कुल २७ जना सदस्य सम्मिलित क्लबले मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने, सामाजिक सहकार्य र सहयोग प्रवर्द्धन गर्ने, सरसफाइ र लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्ने तथा बालबालिकाको नेतृत्वदायी क्षमताको विकासमा योगदान दिने लक्ष्य लिएको छ।

कल्वकाे अध्यक्षमा कपिल बि.क.,उपाध्यक्षमा गीता बि.क.,सचिव निमेश कुँवर योगी, सह-सचिव: सन्तोष बि.क.,कोषाध्यक्ष प्रकृति अधिकारी रहेका छन् ।

क्लब स्थापना र प्रारम्भिक गतिविधिका लागि आवश्यक पर्ने स्रोतसाधन जुटाउन अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–८, ठाडुङ्गाबाट बसाइँसराइ गरी हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा बसोबास गर्दै आएका श्री रिम प्रसाद पन्थी, बसुन्धरा भुसाल पन्थी, वर्षा पन्थीबिबेश पन्थीद्वारा रु.१०,००० आर्थिक सहयोग उपलब्ध गराइएको छ। क्लब परिवारले सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँहरूलाई विशेष धन्यवाद दिएको छ।

त्यस्तै, सहयोग उपलब्ध गराउन सहजीकरण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहकर्मी समाजका संस्थागत विकास अधिकृत पुनाराम पन्थीप्रति पनि क्लब परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। उहाँको पहल र सक्रियताले नै क्लबको प्रारम्भिक यात्रा सम्भव भएको सहभागीहरूको भनाइ थियो।

क्लबको स्थापना सँगसँगै गाउँ समुदायमा बालबालिका नेतृत्वमा आधारित सामाजिक गतिविधि सशक्त हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८२ साउन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्