
दाङको तुलसीपुर उपमहानगरपालिका भदौ २८ गते विशेष समारोहका बीच औपचारिक रूपमा सडक आश्रित मानवमुक्त नगर घोषणा हुने भएको छ ।
नेपालमा पहिलो पटक भरतपुर महानगरपालिका र दुई प्रदेश यसअघि नै सडक आश्रित मानवमुक्त घोषणा भइसकेका छन् । अब लुम्बिनी प्रदेशभित्र तुलसीपुरलाई औपचारिक घोषणा गर्ने तयारी भएसँगै दाङ राष्ट्रिय अभियानतर्फ अघि बढ्न लागेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आइतबार सरोकारवालासँग भएको छलफलमा “भदौ २८ गतेको दिनलाई सामूहिक उत्सवका रूपमा मनाउने” घोषणा गर्नुभयो । उहाँले यस कार्यक्रमलाई केवल औपचारिकता नभई नगरको गौरव, नागरिक चेतना र सामाजिक रुपान्तरणसँग जोडेर लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार घोषणा कार्यक्रम सफल बनाउन संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, व्यापारी समुदाय र आम नागरिक सबैको सहकार्य अपरिहार्य छ ।

उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले नगरका १९ वटै वडाबाट कम्तीमा ५ हजारभन्दा बढीको सहभागिता सुनिश्चित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार घोषणालाई ऐतिहासिक बनाउन सांस्कृतिक झाँकी, समुदायगत जुलुस र सामूहिक उत्सवका गतिविधि आयोजना हुनेछन् ।
मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीका अनुसार नेपाललाई आगामी दुई वर्षभित्र नै सडक आश्रित मानवमुक्त मुलुक घोषणा गर्ने तयारी भइरहेको छ । मकवानपुरबाट सुरु भएको अभियान अहिले देशभरका २१ जिल्लामा २७ वटा सेवा केन्द्रमार्फत सञ्चालित छ ।
अधिकारीले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार दाङमा मात्रै अहिलेसम्म २६४ जना उद्धार गरिएका छन् । तीमध्ये १२६ जना आफ्नै परिवारसँग पुनर्मिलन भएका छन् भने तुलसीपुर आश्रममा हाल ६६ जना आश्रित छन् । “घोषणा पश्चात पनि सडकमा कोही देखिएमा पाँच घण्टाभित्र उद्धार गरेर संरक्षणमा ल्याइनेछ,” उहाँले बताउनुभयो ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछानेले “आश्रमलाई भरिभराउ बनाउने होइन, सडक आश्रित मानवलाई मुक्त र आत्मनिर्भर बनाउने सोचमा सबै जुट्नुपर्छ” भन्ने धारणा राख्नुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले व्यापारी समुदायले पनि अभियानमा सक्रिय सहकार्य गर्ने बताउँदै घोषणालाई “युगान्तकारी कदम” को संज्ञा दिनुभयो ।
कार्यक्रममा सडक आश्रित मानवमुक्त घोषणापछि ‘के साँच्चै दाङका सडकमा कोही नदेखिनेछन् ?’ भन्ने प्रश्न उठेको छ । कतिपय सामाजिक अगुवाले घोषणासँगै सुरुवाती उत्साह मात्र नभई दीर्घकालीन व्यवस्थापन, पुनःस्थापना र आत्मनिर्भरता कार्यक्रम पनि आवश्यक रहेको बताएका छन् ।
यसअघि सडक आश्रित मानवमुक्त घोषणा गरिएका अन्य स्थानमा घोषणा र व्यवहारबीच केही अन्तर देखिएको अनुभव भएकाले तुलसीपुरले त्यसबाट सिकेर दीगो मोडल विकास गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।
भदौ २८ गते हुने कार्यक्रममा विभिन्न जातजाति, संघ–संस्था र समुदायका झाँकीसहित हजारौं नागरिक सहभागी हुने अपेक्षा गरिएको छ ।
यो घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभई सडकमा आश्रित भएर बस्न बाध्य नागरिकका लागि नयाँ सुरुवात बन्नेमा विश्वास लिएको सराेकारवालाले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै “उद्धार, पुनर्संयोजन र अनुगमन” लाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

