असोज २६ गते एमालेको खबरदारी सभा हुने



नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज सम्पन्न भएको छ। संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २६ गते घोराहीमा खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

बैठकले हालको राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरताकातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारी सभाको तयारी थालिएको जनाएको छ। संयोजक बुढाथोकीका अनुसार विधिको शासनको रक्षा, संविधानको कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र अराजकताविरुद्ध जनसहभागिता जुटाउने अभियान अन्तर्गत यो सभा आयोजना गर्न लागिएको हो ।

बैठकमा विभिन्न जनसंगठनका प्रतिनिधिहरूले क्रमशः आफ्ना धारणा राख्दै हालको सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उनीहरूले राज्य सञ्चालनमा देखिएको मनोमानी, स्वेच्छाचारिता र संवैधानिक निकायमाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका थिए।

वक्ताहरूले एमालेले सधैं राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा आवाज उठाउँदै आएको स्मरण गराउँदै आगामी सभालाई जनअधिकार र राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

बैठकले खबरदारी सभालाई सफल बनाउनका लागि दाङका सबै स्थानीय तह, वडा र टोलस्तरमा जनसंगठनहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ। सभामा सहभागीता बढाउनका लागि प्रचार–प्रसार अभियान सुरु गरिएको र विभिन्न क्षेत्रका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, महिला र युवा वर्गको उपस्थिति सुनिश्चित गरिने संयन्त्रले जनाएको छ।

संयोजक बुढाथोकीले भने, “हामी संविधान र विधिको शासनको संरक्षणका लागि आवाज उठाउँदै आएका छौं । यो सभा त्यसको निरन्तरता हो।”

बैठकमा एमालेका जनसंगठनहरूका जिल्लास्तरीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले राष्ट्रिय हित विपरीत जाने, जनताको अधिकार हनन गर्ने, र शासन व्यवस्थामा अराजकता फैलाउने कुनै पनि शक्ति सह्य नहुने बताएका थिए।

संयन्त्रका अनुसार खबरदारी सभामा दाङ जिल्लाका विभिन्न पालिका र गाउँपालिका क्षेत्रबाट हजारौं जनताको सहभागिता रहनेछ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्