
दाङमा अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँच सडकखण्डमा रातिको समयमा सडक बन्द हुने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार असोज ८ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङदेखि प्युठानको चकचके हुँदै गनाहा खोलासम्मको सडकखण्ड, शहीद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड, घोराही–मुर्कुटी सडकखण्ड तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्म रहेकाे प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिनुभयाे ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित सबैलाई सावधानी अपनाउन तथा रातिको समयमा उक्त सडकखण्डमा आवतजावत नगर्न आग्रह गरेको छ।।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

