बहुविवाहलाई मान्यता दिने मस्यौदाको विरोधमा अनेम संघ दाङले बुझायाे ज्ञापनपत्र



पछिल्लो समय बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी प्रस्तावित मस्यौदाको देशभर तीव्र विरोध भइरहेको छ। यसै सन्दर्भमा अखिल नेपाल महिला संघ (अनेम संघ) दाङले पनि विरोधको स्वर उठाउँदै आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।

संघकी अध्यक्ष लक्ष्मी शर्माको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको ज्ञापनपत्रमा बहुविवाहलाई वैधानिकता दिने प्रयासले महिलाको अधिकार, सामाजिक न्याय र संवैधानिक मूल्य मान्यताको गम्भीर उल्लंघन हुने उल्लेख छ। ज्ञापनपत्रमा भनिएको छ, “कानुनीरूपमै बहुविवाहलाई वैधता दिनु महिलाविरुद्धको हिंसालाई संस्थागत गर्ने खतरनाक प्रयास हो, जुन स्वीकार्य छैन।”

ज्ञापनपत्र बुझाउने क्रममा उपस्थित महिलाहरूले प्रस्तावित मस्यौदा तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए। उनीहरूले यो मस्यौदा पारित भएमा महिलाहरू अझ असुरक्षित हुने र समाजमा लैङ्गिक विभेद झन् गहिरिने तर्क गरेका छन्।

ज्ञापनपत्रमा अनेम संघले बहुविवाहविरुद्ध २०६३ सालमा गरिएको संविधान संशोधन र त्यसपछिका कानुनी उपलब्धिहरूको स्मरण गराउँदै विगतका उपलब्धिहरू मेटाउन खोजिएको आरोप लगाइएको छ।

ज्ञापन बुझाउने कार्यक्रममा विभिन्न महिला अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्