
तुलसीपुर उद्योग वाणिज्य संघकी पूर्व कार्यसमिति सदस्य एवं व्यवसायी सपना बस्नेतले तुलसीपुर उपमहानगरपालिका–९ मा रहेको माध्यमिक विद्यालय दोघरेलाई ४० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।
उहाँले चाडपर्वमा हुने अनावश्यक चटक–भडकलाई न्यून गर्दै समाजसेवामा खर्चिनुपर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उपयोगी हुने गरी बस्ने राउण्ड टेबल निर्माणका लागि सहयोग उपलब्ध गराउनुभएको हो ।
व्यवसायी बस्नेतले भन्नुभयाे-“सामाजिक क्षेत्रमा सानो भए पनि टेवा पु¥याउन पाउँदा खुसी लागेको छ । चाडपर्वमा गरिने फजुल खर्चलाई कटौती गर्दै यस्ता काममा लगाउन सके समाज र बालबालिकालाई उपयोगी हुन्छ भन्ने सन्देश दिन चाहेको हुँ।”
सहयोग रकम विद्यालय प्रधानाध्यापक सुनिता यादवलाई हस्तान्तरण गर्दै उहाँले शिक्षण–शिक्षणको वातावरण सुधार गर्दै विद्यार्थीमैत्री पूर्वाधार बनाउन सबैको सानो–सानो योगदान महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यालयकी प्रधानाध्यापक सुनिता यादवले सहयोगप्रति खुसी व्यक्त गर्नुभयाे । “याे सहयोगले विद्यालयमा राउण्ड टेबल निर्माण गर्न सहज हुने भयो । विद्यार्थीहरूलाई पढ्न–बस्न र छलफल गर्न सुविधा हुनेछ । यसले सिकाइ वातावरण अझ प्रोत्साहन गर्नेछ ।”- उहाँले भन्नुभयो ।
प्रधानाध्यापक यादवले विद्यालयमा अझै आवश्यक संरचना र भौतिक सुविधा अभाव रहेको भन्दै समाजका अन्य शुभचिन्तक, पूर्वविद्यार्थी र दाताहरुलाई पनि यस्तै सहयोगमा हातेमालो गर्न आग्रह गर्नुभयो ।

