
तुलसीपुर उपमहानगरपालिकाले यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पृथक ढङ्गले सञ्चालन गर्ने तयारी गरेको छ।
मंगलबार उपमेयर स्यानि चौधरीको अध्यक्षतामा महिला, बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको छलफलले सचेतनामूलक र परिणाममुखी कार्यक्रम मार्फत अभियान प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो।
यस वर्षको १६ दिने अभियान अन्तर्गत मंसिर १० गतेदेखि २५ गतेसम्म बिबिध कार्यक्रमहरू सञ्चालन गरिनेछ।
शाखा प्रमुख माया श्रेष्ठका अनुसार, यस वर्ष उपमहानगरपालिकाले १६ दिने अभियानलाई प्राथमिकतामा राख्दै समुदायस्तरमै सचेतनामूलक कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ। “गत वर्षका गतिविधिको समीक्षा गरेर यस वर्षका कार्यक्रमहरूलाई अझ सशक्त ढङ्गले अघि बढाइनेछ। विद्यालयस्तरका प्रतिस्पर्धा, कानुनी परामर्श, संवाद कार्यक्रम, जिङ्गल प्रशारण लगायतका विविध माध्यमबाट जनचेतना बढाइनेछ।”
बैठकमा सहभागीहरूले लैङ्गिक समानता र बालबिवाहका बढ्दो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न विद्यालय र समुदायस्तरबाटै सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा अन्तरविद्यालय प्रतिस्पर्धा, कानुनी परामर्शसहितको प्यानल डिस्कसन, पारिवारिक हिंसा न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम, र नगरस्तरीय युवा वकालत समूह गठन गरेर युवामार्फत हिंसा विरुद्धको सन्देश फैलाउने प्रस्ताव गरिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होम बहादुर पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सहर र गाउँ दुवै क्षेत्रमा फरकफरक रणनीति आवश्यक पर्ने बताउनुभयाे। “ग्रासरुटसम्म पुग्ने गरी कार्ययोजना बनाउन सकेमात्र वास्तविक परिणाम आउँछ। आत्महत्याका घटना, पारिवारिक विवाद र बालबिवाहका केसहरूका डेटा अध्ययन गरेर लक्ष्यित कार्यक्रम गर्न जरुरी छ।”
छलफलमा सहभागीहरूले वडा स्तरसम्म कार्यक्रम विस्तार गर्नुपर्ने, विशेषगरी वडा नं. १ मा बढ्दो बालबिवाहका घटनामा नियन्त्रणका लागि केन्द्रित प्रयास गर्नुपर्ने सुझाव दिएका थिए। त्यस्तै, लागुऔषध दुरुपयोगमा फसेका युवाहरूका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, हिंसा विरुद्ध युवा समूह विकास गर्ने, तथा जनचेतनामूलक सुचना प्रकाशन तथा प्रशारण गर्ने बिषय उठान गरिएको थियो।
उपमेयर स्यानि चौधरीले १६ दिने अभियानलाई परिवर्तनका अभियानका रूपमा लिन आग्रह गर्नुभयाे । “हामीले हरेक दिन केही न केही परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ। यो १६ दिने अभियान मात्रै होइन, वर्षभर निरन्तर लैङ्गिक हिंसा विरुद्ध सचेतना फैलाउँदै अघि बढ्नुपर्छ।”
उहाका अनुसार, उपमहानगरपालिकाले यसपटक विद्यालय, समुदाय, संघसंस्था, प्रहरी प्रशासन, सञ्चारमाध्यम र नागरिक समाजबीच सहकार्य गरेर अभियानलाई सर्वव्यापी बनाउन योजना बनाइनेछ ।
छलफल कार्यक्रममा दलित महिला संघ, विमेन्स रिहाबिलिटेशन सेन्टर (ओरेक), ओसिएमसी, एनयूसीपीसी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सराेकारवाला तथा पत्रकारहरूको उपस्थिति थियो।

