
दाङको तुलसीपुरमा नवयुवालाई उद्यमशीलतामा जोड्ने उद्देश्यले नवप्रवर्तन व्यावसायिक आइडिया प्रतियोगिता २०२५ सम्पन्न भएको छ। स्थानीय उत्पादन प्रवर्द्धन र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यसहित प्रथम तुलसीपुर महोत्सव २०८२ अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजना तथा ग्रीन फाउन्डेसन नेपालको आर्थिक सहयोगमा भएको प्रतियोगिता १६ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित थियो।
प्रतियोगितामा तुलसीपुर र घोराहीका करिब ३० जना युवाहरुले १० टिममार्फत कृषि, उद्योग, सेवा, प्रविधि तथा स्थानीय उत्पादनसँग सम्बन्धित व्यवसायिक कला प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै ग्रीन फाउन्डेसनका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले कला, संस्कृति र क्षमतालाई आयआर्जनसँग जोड्ने अभियानका रूपमा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो। यस्ता कार्यक्रमले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उहाँको विश्वास छ।
प्रतियोगितामा सहभागी टिमलाई १० मिनेट प्रस्तुतीकरण र ५ मिनेट प्रश्नउत्तरको समय दिइएको थियो। प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको अन्तिम नतिजा भोलि महोत्सव स्थलमा सार्वजनिक गरिने आयोजकले जनाएको छ।
कार्यक्रमकाे सहजीकरण ग्रीन फाउन्डेसनका सुरेश कुमार रावतले गर्नुभएको थियो।

