तुलसीपुर शान्ति महिला नमुना संसदद्वारा उम्मेदवारलाई ज्ञापनपत्र



तुलसीपुर शान्ति महिला नमुना संसद ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणा पत्रमा महिलाका सवालहरू अनिवार्य रूपमा समावेश गर्न माग गर्दै उम्मेदवारलाई ज्ञापनपत्र बुझाएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नमुना संसदले महिलाको सामाजिक, राजनीतिक तथा आर्थिक सशक्तीकरणसँग सम्बन्धित १२ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्र सीमित नगरी प्रत्यक्ष निर्वाचनतर्फ पनि समान सहभागिता सुनिश्चित गर्नुपर्ने, संसदमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, सामाजिक सशक्तीकरणका लागि स्पष्ट तथा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका मागहरू उल्लेख छन्।

नमुना संसदका पदाधिकारीहरूले उक्त ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरिता देवकोटा तथा जनमोर्चाकी उम्मेदवार कमला जि. सि. लाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा उपसभामुख सुष्मा लामिछानेसहित विभिन्न विषयगत समितिका संयोजकहरूको उपस्थिति रहेको थियो।

नमुना संसदले आगामी निर्वाचनमा राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणा पत्रमा महिलाको समान सहभागिता, नेतृत्व विकास, लैंगिक समानता, हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयन तथा आर्थिक सशक्तीकरणका कार्यक्रमहरू स्पष्ट रूपमा समावेश गर्नुपर्ने माग दोहोर्‍याएको छ।

महिला अधिकार, समान प्रतिनिधित्व र नीतिगत सुधारका सवालमा निरन्तर आवाज उठाउँदै आएको नमुना संसदले यसपटकको निर्वाचनलाई महिलामैत्री घोषणा पत्रमार्फत ऐतिहासिक अवसरका रूपमा लिन दलहरूलाई आग्रह गरेको छ ।


नमुना संसदकी सभामुख सीमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका की उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा संसदका परिकल्पनाकार नवराज लामिछानेले  महिला सहभागिता संख्यात्मक उपस्थितिमा मात्र सीमित नभई नीतिगत तथा निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएकाे थियाे । २०६२ सालमा स्थापना भएको नमुना संसदलाई बचाइराख्न महिलाहरुकाे सक्रियता आवश्यक रहेको बताउनुभयो ।

त्यसैबीच, तुलसीपुर शान्ति महिला नमुना संसदलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ।

तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका कार्यालय महिला बालबालिका तथा सामाजिक विकास शाखा को आयोजनामा तथा नमुना संसदको सह–आयोजनामा सम्पन्न कार्यक्रममा महिलाको शान्ति, सुरक्षा र सहभागितासम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।


अभिमुखीकरण कार्यक्रममा अधिवक्ता गोमा महराले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ अन्तर्गतका नीति तथा कानुनी प्रावधान र प्रस्ताव नं. १८२० का मुख्य व्यवस्थाहरूका विषयमा विस्तृत जानकारी गराउनु भएको  थियाे।

यस्तै, सल्लाहकार दुर्गालाल केसीले संसदमा महिला सांसदहरूको भूमिका, जिम्मेवारी तथा प्रभावकारी सहभागिताका उपायबारे प्रकाश पार्नु भएको थियाे। साथै, तयार पारिएको १२ बुँदे मागसमेतको औचित्य र आवश्यकताबारे स्पष्ट पार्नु भएको थियो।

कार्यक्रमको  शहरीकरण शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्