
दिप्तिशिखा चाैधरी
थारु समुदायका पर्वमध्ये होली अर्थात् ढुह्रेरी पर्व एक महत्वपूर्ण चाड हो। फागुन महिनाको शुक्ल पक्षको पूर्णिमालाई दङ्गौरा थारुहरूले “ढुह्रेरी” नामक चाडका रूपमा मनाउने गर्दछन्। यसलाई ढुह्रेरी, होली अथवा फागु पूर्णिमा पनि भनिन्छ।
यस दिन थारु गरढुर्याहरू बिहानै मटावाको घरमा जम्मा हुन्छन्। मटावाकी श्रीमतीले तोरीको तेल, चामलको पिठो र कराही दिन्छिन्। त्यसपछि गरढुर्याहरू छायादार स्थानमा गई चामलको पिठोबाट “झझ्रा” नामक रोटी पकाउँछन्। यस पर्वमा एउटै प्रकारको रोटी मात्र पकाउने परम्परा रहेको थारु अगुवाहरू बताउँछन्।
साँझ पर्दै जाँदा गरढुर्याहरू र केटाहरू सिमलको सानो बोट काटेर ल्याउँछन्। बोट काट्नुअघि “सेम्रक ढ्वाटा फुल गैल रे, फुल गैल रे, उप्पर लागल टेम्हरि टेम्हरि” जस्ता वाक्यांश भट्याइन्छ। घण्ट बजाइन्छ र सिमलको बोटलाई भुइँमा खस्न नदिई समातिन्छ। त्यसपछि गाउँदेखि अलि टाढा एक स्थानमा गाडी त्यसमाथि खर ओढाइन्छ।
“गन्यारी” नामक काठमा सिमलको हाँगाले प्वाल पारी घर्षण प्रक्रियाद्वारा आगो बालिन्छ। यही आगोबाट सिमलको बोटमा आगो लगाइन्छ। यस क्रियालाई थारु परम्परामा “चिर डुङ्ना” भनिन्छ। दङ्गीशरण–३ का गुरुवा सिताराम चौधरीका अनुसार यो पुर्खादेखि चलिआएको धार्मिक विधि हो।
बलेको चिरमा लस्करै रोटी चढाइन्छ। त्यसपछि गरढुर्याहरूले आफ्ना घरघरबाट गुइँठा ल्याएर त्यही आगोमा पोल्छन् र सोही गुइँठा घरमा लगेर आगो बालेर खाना पकाउँछन्। यस दिन अन्य विधिबाट आगो बालेर खाना पकाउने चलन छैन भन्ने थारु गृहिणीहरू बताउँछन्। यो आगो वर्षभरि निभ्न नदिने मान्यता रहेको छ।
चिरदाह सम्पन्न भएपछि सबै गरढुर्याहरू ग्रामीण देवस्थल “भुइँयार थान” मा भेला हुन्छन्। गुरुवाले देवीदेवताहरूलाई रोटी चढाउँछन् र एक टपरी खाना अर्पण गर्छन्, जसलाई थारुहरू “पिट्रौनह्क भात” भन्छन्। त्यसपछि साना केटाहरू टपरीको खाना लिएर जलाशय, जलस्रोत वा कुँवामा गई त्यहीँ बसेर खान्छन्।
त्यसपश्चात् घण्ट बजाउँदै गल्लीमा ओहोर–दोहोर गर्दै “सेम्रक ढ्वाटा फुल गैल रे…” भाका दोहोर्याउँछन्। यस प्रकारका अश्लील वाक्य भट्याउने चलनले फ्रायडवादको सम्झना दिलाउने वा थारु समाजमा यौन स्वतन्त्रताको संकेत गर्ने जस्तो देखिन्छ भन्ने मत थारु संस्कृतिविद अशोक थारु व्यक्त गर्नुहुन्छ। उहाँका अनुसार अवचेतनमा सुषुप्त अवस्थामा रहेका यौनसम्बन्धी भावनालाई सामाजिक सीमाभित्र अभिव्यक्त गर्ने माध्यमका रूपमा यस पर्वलाई लिन सकिन्छ।
यसरी अश्लील शब्द उच्चारण गर्दै साना केटाहरू गल्ली–गल्ली दौडिन्छन् र पछि बाँसको पिचकारी बनाएर रङ्ग छ्याप्छन्। अहिले भने आधुनिकतासँगै प्लास्टिकको पिचकारी प्रयोग हुने गरेको देखिन्छ। बाँसको पिचकारीबाट होली खेल्ने चलन लोप भइसकेको छ।
एक दिन मात्र मनाइने ढुह्रेरी पर्वलाई थारु समुदायले रमाइलो, सहिष्णुता र आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिने गर्दछन्।

