थारु पत्रकार संघ दाङको छैटौं जिल्ला अधिवेशन  सम्पन्न, अध्यक्षमा निता चाैधरी



थारु पत्रकार संघ दाङको छैटौं जिल्ला अधिवेशन  आज सम्पन्न भएको छ । संघका अध्यक्ष नवीन चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै उपमेयर चौधरीले थारु पत्रकारहरूको दक्षता र क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले थारु समुदायका पत्रकारहरूको सशक्त उपस्थितिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेले पत्रकारिता क्षेत्रमा थारु पत्रकारहरूको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । महासंघका केन्द्रीय उपाध्यक्ष दिप्तिशिखा चौधरीले थारु पत्रकारहरूको पेशागत सुदृढीकरण र संस्थागत विकासमा जोड दिनुभयो ।
थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष सन्तोष दहितले हालसम्म ६८ जना थारु पत्रकारहरूको तथ्यांक संकलन गरिएको जानकारी दिनुभयो । उहाँले थारु पत्रकारहरूको एकता र क्षमता विकास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संघका सल्लाहकार लक्षिमान चौधरी तथा कानुनी सल्लाहकार रामशरण चौधरीले पत्रकारिता क्षेत्रमा रहेर बाँच्न पाउने वातावरण निर्माणका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी, थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य भुवन चौधरीले १ लाख ८० हजार थारु समुदायको इज्जतको खम्बाका रूपमा पत्रकारहरूले गौरवपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन   प्रिियासनले  पत्रकारहरुकाे सस्थागत एकता बनाउन आवश्यक रहेको बताउनुभयाे ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरीले २६ जिल्लामा थारु कल्याणकारिणी सभा सक्रिय रहेको उल्लेख गर्दै सबै जिल्लामा संस्था बलियो भए थारु पत्रकार संघ पनि अझ सशक्त बन्ने धारणा राख्नुभयो ।
कार्यक्रमको सहजीकरण निता चौधरीले गर्नुभएको थियो ।

अधिवेशनले निता चौधरीको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरी १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी, कोषाध्यक्षमा आरएम जगत कुशुम्या  तथा सदस्यहरूमा आसा चाैधरी, निशा चौधरी, विष्णु कुसुम लगायत चयन भएका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्