
प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी, दाङको सार्वजनिक सुनुवाइ कार्यक्रम आज साेमबार सम्पन्न भएको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सेवाको गुणस्तर सुधार र सेवा विस्तारका विषयमा सरोकारवालाहरूले सुझाव दिएका छन्।
सहभागीहरूले स्वर्णविन्दु सेवा विस्तार, सुत्केरी सेवा सञ्चालन तथा एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेकपा (एमाले)का कमानसिंह खड्का, नेपाली कांग्रेसका विदुर गौतम, अस्पताल विकास समितिका पूर्वअध्यक्ष श्रीधर मज्गैया लगाएतले आ – आफनाे धारणा राखेका थिए ।
कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तवले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा एक लाख ६२ हजार ५ सय ४२ जनाले चिकित्सालयबाट सेवा लिएको जानकारी दिनुभयो। उहाँले पञ्चकर्म, संवरण तथा प्रसन्न सेवा नागरिकमाझ लोकप्रिय बन्दै गएको बताउनुभयो।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नीतिगत सुधार मार्फत चिकित्सालयलाई प्रदेशकै नमुना आयुर्वेद अस्पतालका रूपमा विकास गर्न आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।
डा. अर्जुन शर्माकाे स्वागत मन्तब्य बाट सुरु कार्यक्रमको सहजीकरण सूचना अधिकारी वसन्त केसीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार

