खतरनाक चक्रवात ‘अर्नब’ : नेपालमा उच्च सतर्कता




बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रूप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ।

चक्रवातको अप्रत्यक्ष प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा तथा भारी हिमपातसमेत हुनसक्ने सम्भावना रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ।

अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाएको छ। साथै, उच्च पहाडी क्षेत्रमा यात्रा नगर्न यात्रु तथा पदयात्रीलाई आग्रह गरिएको छ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते बिहीबार रातिदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर देखिन सक्ने बताइएको छ।

चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात हुनसक्ने मौसमविद्हरूको पूर्वानुमान छ।

यद्यपि, अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको र आवश्यक सतर्कता भने अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्