लमहीमा जारी पिएम कपमा सुदूरपश्चिमद्वारा काेशी प्रदेशलाई २४३ रनकाे लक्ष्य




दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई २४३ रनकाे विजयी लक्ष्य दिएकाे छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका किरण ठगुन्नाकाे शतकीय पारीमा काेशी प्रदेशलाई २४३ रनकाे विजयी लक्ष्य दिएकाे हाे ।

सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए ।
उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे ।
फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ अाेभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् ।टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर अाउट भए ।

साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर।अाउट भए ।
काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ अाेभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए ।

फिर्दाेश अन्सारीले ८ अाेभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ अाेभरमा ३० रन दिएर २ विकेट हात पारे ।

दिपेश कँडेल, प्रकाश कार्कीले १-१ विकेट लिए ।
२४३ रनकाे विजयी लक्ष्यका साथ काेशी प्रदेशले अब केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको साताैँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको काेशी प्रदेश टीम बीच खेल जारी छ।
अहिलेसम्म ७ खेल खेलीसकेको सुदूरपश्चिम २ मा जीत र ५ मा हार व्यहाेर्दै ४ अंकका साथ साताैँ स्थानमा रहँदा समान ७ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ६ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको दशाैँ स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । राउण्ड राेविनका आधारमा भईरहेकाे प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भईरहेकोे प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शनिबारसम्म ३४ वटा खेल भईसकेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्