१३ वर्षे किशोरले पूरै गाउँ यसरी जोगाउँछन् , हेर्नुहोस्

विलियम काम्क्वाम्बाकको जीवनमा आधारित फिल्म


Review: The Boy Who Harnessed the Wind - Cineuropa
साँचो मनले गरेको इच्छा पूरा हुन्छ- यो भनाइ विलियम काम्क्वाम्बाको जीवनसँग ठ्याक्कै मेल खान्छ।

अथाह दुःखमा पनि हरेश नखाई लगनसाथ काममा लागिपर्ने १३ वर्षीय किशोर हुन् विलियम। उनको परिवार पूर्वी अफ्रिकाको मालावी देशमा बस्छ। परिवारमा आमा, बुवा र दिदी छन्। आर्थिक अवस्था बलियो छैन। खेतीकिसानी गरेर वर्षभरिको गुजारा मुश्किलले हुन्छ। हातमुख जोर्ने संघर्षमै विलियम परिवारको दैनिकी बित्छ।

उत्सुक र जिज्ञासु स्वभावका विलियमसँग रेडियो मर्मत गर्ने सीप छ। कहिलेकाहीँ साथीभाइ र छिमेकीहरूका रेडियो बनाइदिएर उनी पैसा पनि कमाउँछन्। फुर्सद बेला फोहोर फ्याँक्ने ठाउँमा पुगेर विद्युतीय सामानहरू खोजिरहन्छन्।

गरिब र दुःखबीच पनि उनको परिवार खुसी छ। आमाबुवा विलियम र उनकी दिदीलाई धेरै पढाउन चाहन्छन्। विलियमलाई नयाँ स्कुल ड्रेस किनिदिएका छन्। नयाँ ड्रेस लाएर स्कुल जान पाउँदा विलियम एकदमै खुसी हुन्छ। आमाबुवा पनि खुसी हुन्छन्।

विलियमकी दिदी भने दु:खी छिन्। उनको पीडा अर्कै छ। उनकी साथीले सरकारी निकायमा काम पाएकी छन्। उनलाई पनि जागिर गर्ने मन छ। तर उनले आफ्नो परिवारलाई मद्दत गर्नुपर्ने अवस्था छ। उनी कसैसँग प्रेममा पनि छिन्। त्यो प्रेम अरूलाई पचेको छैन।

केही समयपछि विलियम, उनको परिवार र गाउँलेहरूको जीवनमा कालो बादल छाउन थाल्छ।

गाउँमा ठूलो पानी परेपछि विलियमका बुवा र अन्य किसान खेती नासिने चिन्तामा डुब्छन्। छिमेकी देशहरूमा बाढी आएको खबरले उनीहरूलाई तर्साउँछ।

त्यही बेला एउटा कम्पनीका मान्छे आएर उनीहरूका गाउँका रूख काटेर बेच्न भन्छन्। विलियम र मुखिया मान्दैनन्। तर केही गाउँले पैसा पाउने आशमा राजी हुन्छन्।

उनीहरूको जमिनमा भएका रूखहरू धमाधम काटिन्छ।

यसबीच विलियमलाई अर्को समस्या आइपर्छ। उनी स्कुलमा शुल्क बुझाउन सक्दैनन्। उनलाई तारन्तार ताकेता गरिन्छ। उनका बुवाले पैसा दिन नसक्ने बताउँछन्। बाढी आएन र अन्न नासिएन भने मात्र शुल्क तिर्न सक्ने उनको भनाइ छ।

गाउँमा बाढी आउँदैन। तै पनि विलियमका बुवा छोराको स्कुल शुल्क तिर्न राजी हुँदैनन्।

विलियमलाई पढाउने रहर पालेका उनका बुवा आखिर किन पछाडि हट्छन्?

त्यस्तो के समस्या आइपर्छ जसले विलियमका बुवालाई निरीह बनाउँछ?

के त्यो समस्या समाधान होला?

पूरा गाउँमा आइपरेको समस्या सल्टाउन किशोर विलियमले केही गर्न सक्लान्?

गर्न खोजे पनि उनलाई कसैले पत्याऊलान्?

साथ देलान्?

विलियम काम्क्वाम्बाको जीवनकथा कतै पढ्नु/सुन्नुभएको छ भने तपाईंहरूलाई यी प्रश्नको जवाफ थाहा होला। नभए फिल्म ‘द ब्वाइ हु हार्नेस्ड द विन्ड’ ले बुझाइदिनेछ। यो फिल्म विलियम काम्क्वाम्बाकको जीवनमा आधारित हो।

मनदेखि चाहेको काम लगनसाथ गरे पूरा हुन्छ भन्ने उदाहरण विलियमले दिएका छन्। उनको एक्लो हुटहुटीले एउटा सिंगो गाउँ जोगाउन मद्दत गरेको थियो।

सन् २०१८ मा रिलिज भएको ब्रिटिस फिल्म ‘द ब्वाइ हु हार्नेस्ड द विन्ड’ ९२औं एकेडेमी अवार्डका लागि बेलायतले पठाएको थियो। मनोनयनमा नपरे पनि यो फिल्मले विश्वव्यापी रूपमै समीक्षकहरूबाट प्रशंसा बटुलेको थियो।

आज शनिबारको सिनेमा

मा हामीले यही फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा अंग्रेजी सबटाइटलसहित उपलब्ध छ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्