नक्कल गर्न खोज्दा चलचित्र क्षेत्र धरापमा पर्याे : महानायक राजेश हमाल



महानायक राजेश हमालले चलचित्रमा नेपाली मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहितको चलचित्र बने विश्व बजारमै स्थान पाउने बताउनुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । हमालले प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा लागेकाहरुलाई चुनौती थपिएको बताउनुभयो । ‘हिजोका दिनमा चल्ने चित्र हेर्ने चलचित्र हलमै पुग्नुपथ्र्यो । अहिले सबैको हातमा चलचित्र पुगिसक्यो । कुनै समय थियो, चलचित्र बने पुग्थ्यो, दर्शकहरुले हेरिहाल्थे । अहिले त्यो अवस्था छैन, दर्शकले कथावस्तु बुझेर मात्र चलचित्र हेर्छन् । अब कस्ता विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ । नक्कल गर्न खाेज्दा याे क्षेत्र धरापमा पुगेकाे छ ’– उहाँले भन्नुभयो–
‘अर्को कुरा अहिले बालबालिका पनि चलचित्रको प्राविधिक पक्षबारे जानकार छन् । विभिन्न सोसल मिडियाका कारण हरेक घरमा हरेक उमेर समूहका कलाकार उत्पादन भइरहेका छन् । त्यसैले अबको मुख्य विषय भनेको प्रविधिको उच्चतम प्रयोग र कथावस्तु नै हो ।’

कार्यक्रममा सहभागीहरुको नेपाली चलचित्र बजार सेलाउनुको कारण के हो ? भन्ने प्रश्नको जवाफमा नायक हमालले विदेशी सिनेमाको देखासिकीका कारण यो अवस्था आएको धारणा राख्नुभयो । ‘पहिलाका चलचित्रमा नेपालीपन झल्किन्थ्यो । गाउँघरका कथा समेटिएका हुन्थे । हरेक उमेर समूहका दर्शकले चलचित्रमा आफ्नो कथा पाउँथे र, पो चलचित्र हलसम्म पुग्थे, अहिले त्यस्त चलचित्रहरु बन्न छोडेकै कारण चलचित्र बजार सेलाएको हो’– उहाँले भन्नुभयो– ‘अहिलेका चलचित्रमा विदेशी नक्कल गर्न खोजिन्छ । जसले गर्दा चलचित्रहरु यता न त्यताका निर्माण हुन्छन् । अनि कसरी फस्टाउँछ चलचित्र बजार ?’
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष शिव पुनले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको  थियो  ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्