प्रहरी चौकी चिराघाटको स्तरउन्नतिका लागि सम्बन्धित निकायमा पहल



 

निराश पाण्डे

 

प्रहरी चौकी चिराघाटको स्तरउन्नतिका लागि सम्बन्धित निकायमा पहल गरिने भएको छ ।

शान्तिनगर गाउँपालिकाको चालू आर्थिक बर्षको ८ औं कार्यपालिकाको बैठकले शान्तिनगर ४ स्थित प्रहरी चौकी चिराघाटको स्तरउन्नति अर्थात क श्रेणीको ईलाका प्रहरी कार्यालयका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।

साथै बैठकले वडा नम्बर ५ को रंगैजामा अस्थायी प्रहरी बिट स्थापनाको लागि पनि पहल गर्ने निर्णय समेत निर्णय गरेको छ। प्रहरी चौकी चिराघाट २०४५ साल भदौ १२ गते अस्थाई प्रहरी चौकीको रूपमा स्थापना भइ २०५४ सालमा स्थायी प्रहरी चौकी भएको थियो ।

शान्तिनगर गाउँ पालिकामा एक मात्र प्रहरी चौकी स्थापना भएको ३५ बर्ष बिति सक्दा पनि ईलाका प्रहरी कार्यालयको रूपमा परिणत नभएको भन्दै पत्रकार निराश पाण्डेले शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत लाई २०७९ जेठ २४ गते प्रहरी चौकी चिराघाटको स्तर उन्नतिको लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष बस्नेतले आफुले प्रहरी चौकीको स्तरउन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनुभयाे । करिब दुई बर्षपछि अध्यक्ष बस्नेतले उक्त प्रहरी चौकी चिराघाटलाई ईलाका प्रहरी कार्यालय बनाउन सम्बन्धित निकायमा पहलका लागि गतबिहिवार ८ औ कार्यपालिकाको बैठकबाट निर्णय गराउनु भएको गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कंडेलले जानकारी दिनुभयाे।

त्यस्तै शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा सिसि क्यामेरा सहितको चिराघाट बजारमा प्रहरी बिट समेत निर्माण गरिएको जनाइएको छ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्