सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने बताउनुभएकाे छ। बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उहाले पश्चगामी सोच र उद्देश्य प्रेरित आन्दोलनको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयाे ।
‘अग्रगमनले मात्रै समाज रुपान्तरण र मुलुकको विकास सम्भव छ,’ उहाले भन्नुभयाे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा र आन्दोलन पश्चगामी चरित्रको हो, त्यस्तो एजेन्डा बोकेर आन्दोलन गर्नेसँग सरकारले वार्ता गर्दैन ।’
अग्रगामी चेतनाका साथ सडकमा आउने, लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई हुनेमा शंका नगर्न आग्रह गर्नुभयाे । लोकतान्त्रिक व्यवस्था भएकै कारण स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्ने अवस्था सिर्जना भएको मन्त्री शर्माले बताउनु भयाे ।
प्रेस सेन्टर झापाले आयोजना गरेको सो पत्रकार भेटघाटमा उहाले इलाममा जनाधार नभएर नभै, सहकार्य र नयाँ सत्ता समीकरणलाई नयाँ शिराबाट अघि बढाउने दीर्घकालीन सोँच र योजनाका साथ नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाएको स्पष्ट पार्नुभयाे।
‘पार्टी अभिमतबाट भागेको, डराएको केही पनि होइन, हाम्रो त्यहाँ राम्रै जनाधार छ, उहाले भन्नुभयाे, ‘सुवास नेम्वाङ सधैं राजनीतिक एकता र सहकार्यमा जोड दिइरहनु हुन्थ्यो, उहाँकै सम्मानमा पार्टीले सुहाङलाई समर्थन गर्ने निर्णय गरेको हो ।’
मन्त्री शर्माले गृहमन्त्रीको रवि लामिछाने लक्षित संसद र सडकमा भइरहेको विरोधलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिइन् । उनले दूरसञ्चार, सुनकाण्ड, शरणार्थी प्रकरण, ललिता निवास, सहकारी काण्डमा दोषी देखिए सरकारले कसैलाई नछाड्ने जिकिर गर्नुभयाे । मन्त्री शर्माले मुलुकमा आमसञ्चार र सूचना प्रविधिलाई समेट्ने कानुन नै नभएकोले आफ्नो मन्त्रालय सो काममा जुटेको बताउँदै भोलि हुने क्याबिनेट बैठक मार्फत मिडिया काउन्सिल ऐन दर्ता प्रक्रिया अगाडी बढ्ने बताउनुभयाे।
साइबर सुरक्षा केन्द्र स्थापना र सामाजिक सञ्जाल निर्देशिका प्रस्तुत भइसकेको उनले जानकारी दिनुभयाे । मन्त्री शर्माले एक बर्षको अवधिमा थुप्रै राम्रा कामहरु गरेको बताउनुभयाे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राम्रो गर्ने इच्छा अनुसार नै मन्त्रीमण्डलले काम गरिरहेकाले आमसञ्चार विधेयकमा समेट्नु पर्ने केहि बिषय भए सुझाव दिनसमेत मन्त्री शर्माले आग्रह गर्नुभयाे । सरकारले गर्नु पर्ने कामका बारेमा र गरेका राम्रा कामका बारेमा जनता समक्ष पुर्याउन सञ्चार जगतले पुलको काम गर्नु पर्ने मन्त्री शर्माको भनाई थियो ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रम सचिव पुष्प खड्काले सहजिकरण गर्नुभएको थियाे । ।