
सरद शर्मा मज्गैया
तुलसीपुर-९ दोघरेमा रहेको सगरमाथा स्कुलका विद्यार्थीलाई बालविवाह न्यूनिकरणबारे सचेतना प्रदान गरिएको छ ।
विद्यालयले आज आइतबार बालविवाह न्यूनिकरण सम्बन्धि सचेतना प्रदान गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक भरतनाथ योगीले विद्यार्थीलाई बालविवाह न्यूनिकरणबारे सचेतना प्रदान गर्नुभएको हो ।
प्रहरी नायव निरिक्षक योगीले बालविवाह गर्दा हुने कानुनी जटिलता, स्वास्थ्यमा पार्ने असर, सामाजिक प्रभाव लगायतका विषयमा प्रशिक्षण गर्नुभएको हो । प्रहरी नायव निरिक्षक योगिले साथीहरुको लहलहैमा लागेर, महत्वाकांक्षी प्रलोभनमा परेर, सामाजिक सञ्जालको गलत प्रयोग लगाएतकाले कारणले बालविवाह न्यूनिकरण हुन नसकेको बताउनुभयो ।
साथै योगीले बालविवाहले घरबार बिग्रिने, घरेलु हिंसा हुने, कामको बोझ थपिने, शारिरीक र मानसिक समस्यामा पर्ने, सम्बन्ध बिग्रिने लगाएका समस्याहरु देखा परिरहेको बताउनुभयो । यसलाई न्यूनिकरण गर्नको लागि बालबिबाह सम्बन्धि सचेतनामूलक कार्यक्रम र सम्बन्धित निकायमा उजुरी दिनको लागि विद्यार्थीहरुलाई सचेत गराउनुभएको हो ।
उहाँले बालविवाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुने बताउनुभयो । यस्तै बालविवाहका कारण व्यक्तिगत तथा परिवारमा समस्या आउने भएकाले २० वर्ष नपुगी विवाह गर्न नहुने उहाँले विद्यार्थीलाई सचेतना प्रदान गर्नुभयो ।
विद्यालयमा प्रधानाध्यापक छवी कुमार वलीले बालविवाह न्यूनिकरणको लागि विद्यालयले सचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । आगामी दिनमा पनि विद्यालयले विद्यार्थीहरुलाई सचेत बनाउनको लागि यस्ता खालको कार्यक्रमलाई निरन्तरता दिनेमा जोड दिनुभयो ।

