मानसिक, आँखा संगै नसर्ने रोग सम्वन्धि निःशुल्क सेवा



बालाराम खड्का

यहाँका नागिरकहरुले घर आगनमै पहिलो पटक विभिन्न स्वास्थ्य सेवा पाएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघामा शुक्रवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका साथै अन्य रोगको उपचार सेवा पाएका हुन् ।

आँखा स्वास्थ्य तथा मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्वन्धि रोगको पहिचानका साथै गाउँमै उपचार सेवा पाएकोमा स्थानीयहरुले खुसी व्यक्त गरे । ‘आज हामीहरुले घर आगनमै सुगर, प्रेसर आँखाका साथै मानसिक स्वास्थ्यको विषयमा उपचार र परामर्श सेवा पाएका छौ हामीहरु निकै खुसी छौ – स्थानीय सुन्तलि पुनले भन्नुभयाे ।

त्यस्तै सैघाकै रामबहादुर विकले आफुले पहिलो पटक निःशुल्क आँखा जाँच गराएको भन्दै खुसी व्यक्तगर्नुभयाे ।  ‘आर्थिक अभाव तथा अन्य भौगोलिक कारणले मैले आँखा चेकजाँच गर्न पाएको थिएन दुवै आँखा नदेख्ने भएको थिए आज चेकजाँच गराउन पाउँदा निकै खुसी छु – विकले भन्नुभयाे ।’ उहाले आँखा सम्वन्धि रोगको पहिचान भएको समेत बताउनुभयाे ।

निशुल्क स्वास्थ्य शिविरमा सयौले सेवा पाएका छन् । घोराही उपमहानगरपालिकाको सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच सेवा तथा हेल्थ फाउण्डेशन नेपाल दाङको आयोजनामा मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्वन्धी रोग पहिचान कार्यक्रममा १सय ८९ जनाले सेवा लिएका थिए ।

प्रेसर सुगर तथा मानसिक स्वास्थ्य सम्वन्धि चेकजाँच स्थानीयहरुले गराएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयाे । त्यस्तै १८४ जनाको आँखा जाँच गरिएको नेत्र सहायक सपना गौतमले जानकारी दिनुभयाे ।

चेकजाँच गराएका मध्य १९ जना मोतियाविन्दुका विरामीहरु फेला परेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिकाको सहयोगमा राप्ती आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

त्यस्तै अन्य आँखा चिलाउने विजाउने तथा ४० बर्ष माथिका १ सय ५३ जनालाई निःशुल्क चश्मा र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयाे ।

त्यस्तै केहि व्यक्तिहरुमा सामन्य मानसिक समस्या देखिएको हेल्थ फाउण्डेशन नेपालका डा. प्रज्वल पोख्रेलले बताउनुभयाे। त्यस्तै काउन्सीलर यशोधा वलीले विभिन्न व्यक्तिमा मानसिक समस्या देखिएको बताउनुभयाे । त्यसका लागि स्वास्थ्य संस्था तथा वडामा काउन्सीलर आवश्यक भएको बताउनुभयाे। ‘चेकजाँच गरिएका मध्य केहिमा सामान्य मानसिक स्वास्थ्य समस्या देखिएको छ उहाँहरुलाई काउन्सीलिङ आवश्यक छ – उहाले भन्नुभयाे ।

घोराही उपमहानगरपालिका वडा नंं १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझिको अध्यक्षता तथा नगर उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले सैघामा स्थानीयहरुको घर आगनमै सेवा दिने उद्देश्यले निःशुल्क शिविर आयोजना गरेको बताउनुभयाे । ‘यो १९ नम्वर वडा धेरै टाढाछ, हामीहरुले कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भनेर आँखा जाँच गरि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था समेत मिलाएका छौ – डिसीले भन्नुभयाे।

उहाले सैघामा पुगेर स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने सवैलाई धन्यवाद दिनुभयाे। त्यस्तै कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले यस वडाका साथै अन्य स्थानमा विभिन्न स्वास्थ्य कार्यक्रम आयोजना गरेको भन्दै यहाँको स्वास्थ्य शिविरमा धेरै भन्दा धेरै स्थानीयहरुको सहभागीता रहेको भन्दै प्राविधिक सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयाे ।

त्यस्तै वडा अध्यक्ष रायमाझिले आफ्नो वडामा आई स्वास्थ्य शिविरमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएकाे थियाे । कार्यक्रमको सहजिकरण सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले गर्नु भएको  थियाे।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्