तुलसीपुरमा तोडफोड–आगजनी प्रभावित क्षेत्र सरसफाइमा खानेपानी संस्था सहयोग गर्ने



जेनजी आन्दोलनका क्रममा तुलसीपुर क्षेत्रमा भएका तोडफोड तथा आगजनीले अस्तव्यस्त बनेका सरकारी तथा सार्वजनिक संरचनाको सरसफाइ र व्यवस्थापनका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सहयोग गर्ने भएको छ ।

संस्थाको कार्यसमिति बैठकले प्रभावित क्षेत्रलाई चाँडै सामान्य अवस्थामा फर्काउन योगदान पुर्‍याउने निर्णय गरेको हो । यस अन्तर्गत फोहोर व्यवस्थापन र सरसफाइका लागि फोहोर उठाउने गाडी, पानी आपूर्ति गर्ने ट्याङ्कर, ध्वस्त संरचना हटाउन डोजर लगायतका मेसिन र आवश्यक जनशक्ति उपलब्ध गराइनेछ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार आन्दोलनका कारण शहरको सौन्दर्य र सरसफाइमा ठूलो असर परेको छ, जसलाई चाँडै सुधार्न सरोकारवालाबीचको सहकार्य अपरिहार्य छ । उहाँले तुलसीपुरलाई स्वच्छ र सुरक्षित बनाउन सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।

बैठकले आन्दोलनका क्रममा घाइते भई उपचाररत व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।

जेनजी आन्दोलनका क्रममा तुलसीपुरका विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, निजी आवास, होटेल, सडकछेउका संरचना र अन्य सार्वजनिक सम्पत्तिहरू क्षति पुगेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्