अपांगता अधिकार सुनिश्चितताका लागि लुम्बिनी प्रदेशमा ऐन ल्याउने तयारी



राप्ती गाउँपालिकामा आयोजित एक कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले अझै पनि धेरै समस्या भोग्नुपरेको भन्दै सम्बोधन गर्दै विभिन्न वक्ताहरुले राज्यले उनीहरुलाई मुख्यधारमा ल्याउनेगरी काम गर्नुपर्नेमा जोर दिए।

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य चिन्तामणि पौडेल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश सदस्य केशब भुसाल,  अपांगता प्रतिनिधि बसन्ती वली लगायतले अपांगता क्षेत्रमा प्रभावकारी नीति तथा क्रियान्वयनको आवश्यकता औँल्याए।

कार्यक्रममा अपांगता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीलाई सम्मान पत्र, दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रम दोभासे स्मृति योगी र सञ्चालन महासंघका सचिव सन्तोष पन्थीले गर्नु भएको थियाे।

जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा दुई दशमलव ३७ प्रतिशत, अर्थात् एक लाख २१ हजार दुई सय ८९ जनाले कुनै न कुनै प्रकारको अपांगता बोकेको तथ्यांक सार्वजनिक भएको छ। तीमध्ये शारीरिक अपांगता सर्वाधिक ४५ हजार ५६९ छ भने अटिजम भएका व्यक्तिहरुको संख्या ८५६ रहेको छ।

सामाजिक विकास मन्त्रालयकी वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकारले  ऐन ल्याउने तयारी गरेको बताउनुभयाे । उहाले मन्त्रालयले ऐन निर्माणका आवश्यक प्रक्रियागत काम अघि बढाइसकेको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्