बबई एकको गंगटेमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न



रामप्रसाद सुवेदी

दाङको बबई गाउँपालिकाको वडा नम्बर १ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बबई गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र गंगटेमा पाठेघरको मुखको क्यान्सर परीक्षण भिआइए तथा आङ खस्ने समस्याको पहिचान र उपचार सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर साेमबार सम्पन्न भएको हो।

मेट्राे अस्पताल तुलसीपुरमा कार्यरत VIA जाँच सम्बन्धि बिज्ञ सुनिता श्रेष्ठ र तालिम प्राप्त नर्सिङ स्टाफ रबिना वुढा मगरले सेवा दिनुभएको शिविरमा ६२ जना महिलाहरूले सेवा लिएका छन्। सेवा लिएका महिलाहरूमध्ये २ जनामा भिआइए पोजिटिभ देखिएकाे छ। ६ जनामा पाठेघर खस्ने समस्या देखिएको हुदा रिङ राखिएको बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर खड्काले जानकारी दिनुभएकाे छ ।

बबई गाउँपालिका स्वास्थ्य शाखाले विभिन्न समयमा गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू सँगै स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको छ। भौगोलिक रूपमा विकट मानिएको गंगटेमा निःशुल्क स्वास्थ्य शिविर पाउँदा त्यहाँका महिलाहरू खुसी भएका छन्। उनीहरूले भौगोलिक विकटता सँगै आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य परीक्षण गराउन नसकिरहेको बेला गाउँमै निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरु खुसी भएको बताएका छन्।

शिविरमा बबई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर खड्का, स्वास्थ्य अधिकृत साताैं कमल कनाै थापा, आधारभूत स्वास्थ्य सेवा केन्द्र गंगटेका प्रमुख यामबहादुर केसी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्