तुलसीपुरमा सरोकारवालासँग समन्वय बैठक, ओरेकद्वारा महिला स्वास्थ्य मेलाबारे जानकारी सार्वजनिक



ओरेक दाङ र जनचेतना महिला समूहको आयोजनामा सरोकारवालासँग समन्वय बैठक तुलसीपुरमा सम्पन्न भएको छ। बैठकमा यूके इन्टरनेशनल डेभलपमेन्ट, हाम्रो साहस र युएन वुमनको सहयोग रहेको थियो।

बैठकमा ओरेक काठमाडौंकी सावित्रा बिकले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा सम्पन्न एकीकृत महिला स्वास्थ्य मेलाबारे जानकारी गराउनुभएको थियो।

उक्त स्वास्थ्य मेला वडा नं. १३ को वडा कार्यालय तथा फुलवारी स्वास्थ्य चौकी मजघटुवाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। मेलामा कुल २५१ जना महिलाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए। तीमध्ये २२२ जनाले VIA विधिबाट पाठेघरको जाँच गराएका थिए, जसमा ४ जना महिलामा पाठेघर क्यान्सरको संक्रमण देखिएको जनाइएको छ।

त्यसैगरी, ८ जना महिलाले रिङ्ग पेसरी सेवा प्राप्त गरेका छन् भने १० जनाले मनोविमर्श सेवा लिएका छन्। अन्य सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण सेवा लिएका थिए।

स्वास्थ्य मेलाबाट कुल ५५१ जनाले सेवा लिएको तथ्यांक प्रस्तुत गरिएको छ, जसमा २४७ महिला, १ पुरुष र ३ जना बालबालिका रहेका छन्। साथै, २२२ जना महिलालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो।

मेलामा १५० जनालाई सेवा दिने लक्ष्य राखिएको भए पनि सेवाग्राहीको संख्या बढेर २५१ पुगेको ओरेक दाङले जनाएको छ। सेवाग्राहीको अत्यधिक चापका कारण २३ जनाको VIA परीक्षण हुन नसकी उनीहरूलाई मेट्रो अस्पतालमा रिफर गरिएको जानकारी दिइएको छ।

ओरेक दाङका जिल्ला संयोजक कल्पना चौधरीका अनुसार सुरक्षित लैङ्गिक हिंसा प्रतिकार्य सेवा प्रवाह, स्थानीय सरकारसँग सहकार्य, समुदायका अगुवा, पुरुष तथा किशोरीहरूलाई नीतिगत पैरवीमा सहभागी गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। ओरेकले कानुनी परामर्श, साहसिक घर सञ्चालन, दिवस कार्यक्रम, राजनीतिक समावेशीता तथा समानुपातिक सहभागिता, सामुदायिक संस्थाहरूको क्षमता विकास र विपद् जोखिम न्यूनीकरणसम्बन्धी पैरवीका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

उहाँका अनुसार कार्तिकदेखि चैतसम्मको ६ महिनाको अवधिमा ५५ वटा विभिन्न प्रकारका लैङ्गिक हिंसाका घटनाहरू दर्ता भएका छन्।

जनचेतना महिला समूहकी कोषाध्यक्ष बिमला चौधरीकाे स्वागत मन्तव्य राख्नुभएको बैठककाे सहजीकरण कार्यक्रम संयोजक मीना कवरले गर्नुभएको थियो । बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का , उपमेयर स्यानि चाैधरी, प्रमुख प्रशासिकय अधिकृत केशवराज पार्धे, कार्यपालिका सदस्य, वडा अध्यक्ष ,सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधि, पत्रकारहरुकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्