
दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएको छ। गृह मन्त्रालयको निर्णयअनुसार लम्साललाई तत्कालीन कैलालीका सीडीओ गोगनबहादुर हमालको स्थानमा खटाइएको हो।
हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै हमाललाई गृह मन्त्रालयमा तानिएको थियो। गत साता भएको उक्त घटनामा एक कैदीबन्दीको मृत्यु भएको र ४७ जना घाइते भएका थिए।
यसअघि नै कैदीबन्दीबीच विवाद बढ्दो अवस्थामा रहे पनि समयमै सुरक्षा सतर्कता नअपनाउँदा घटना भएको ठहर गर्दै हमाललाई पदबाट हटाइएको हो।
दाङका लागि नयाँ सीडीओ भने अझै तोकिएको छैन। गृह मन्त्रालयले छिट्टै दाङका लागि नयाँ प्रमुख जिल्ला अधिकारीको नियुक्ति गर्ने जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहिवार

