
तुलसीपुर उपमहानगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन आजदेखि कार्यालय प्राङ्गणमै निर्माण गरिएका पालका टहराबाट सेवा प्रवाह गर्न थालेको छ ।
केही दिन अघि जेनजि आन्दोलनका क्रममा नगर भवन ध्वस्त भएपछि सेवाप्रवाहमा समस्या आइरहेको अवस्थामा वैकल्पिक व्यवस्था स्वरूप टहराबाट सेवा सञ्चालन गरिएको हो ।
टहराबाट विभिन्न शाखाका महत्त्वपूर्ण सेवा उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

अहिले तत्कालका लागि सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामार्फत विद्यार्थी भिसामा विदेश जान चाहनेका लागि आवश्यक कागजात दिने, उद्योग व्यवसाय शाखामार्फत व्यवसाय कर तिर्ने, स्वास्थ्य शाखामार्फत क्यान्सर रोगीलाई सिफारिस दिने सेवा प्राथमिकताका साथ अगाडि बढाइएकाे छ।
यस्तै समाजिक सुरक्षा भत्ताकाे काम पनि महत्वपूर्ण सेवाकाे रुपमा अगाडि बढाइएकाे छ ।
उपमहानगरपालिकाले वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य र व्यवसायसँग सम्बन्धित सेवामा नागरिकलाई ढिलाइ नहोस् भन्ने उद्देश्यले अस्थायी संरचना टहरा मार्फत सेवा प्रवाह सुरू गरेको हो ।

