देवघाट महाधिवेशनले पार्टी,देश निर्माणको साझा संकल्प बलियो बनायो : कोमल ओली



नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य कोमल ओलीले पार्टीको दशौँ महाधिवेशनले पार्टी निर्माण र देश निर्माणको यात्रालाई एकसाथ अघि बढाउने साझा संकल्पलाई थप बलियो बनाएको बताउनु भएको  छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको स्टाटसमा उहाले २०७८ साल मंसिर १० गते देवघाटमा सम्पन्न महाधिवेशनलाई ऐतिहासिक र प्रेरणादायी क्षणका रूपमा स्मरण गर्नुभयाे । देवघाटको पवित्र भूमि, नारायणी नदीको तट र लाखौँ जनताको उपस्थितिलाई पार्टीको सामूहिक संकल्प र देशसेवाको प्रतिबिम्बका रूपमा उल्लेख गरिएको छ ।

ओलीले महाधिवेशनपछिको यात्रामा पार्टीले विभिन्न चुनौतीको सामना गरे पनि जनताको हित र देशको समृद्धिका लागि एमाले अविचलित रहँदै अघि बढेको उल्लेख गर्नु  भएको छ । केन्द्रीय सदस्यका रूपमा आफूले पाएको जिम्मेवारी र केन्द्रीय कमिटी बैठकहरूले दिएको राजनीतिक अनुभवलाई उहाले अमूल्य बताएर सबै कमरेडहरूप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।

स्टाटसमा उहाले जेन्जीको नाममा आफ्नो घर,परिवार र व्यवसायमाथि भएको आक्रमण, लुटपाट र आगजनीका कठिन दिनमा पार्टी नेतृत्व तथा कमरेडहरूले देखाएको साथ, समर्थन र ऐक्यबद्धता कहिल्यै नबिर्सने बताउनु भएको  छ । उहाले त्यसलाई केवल राजनीतिक सम्बन्ध नभई आत्मीयता र विश्वासको सम्बन्धका रूपमा व्याख्या गर्नु भएको छ ।

दशौँ महाधिवेशनले निर्माण गरेको नेतृत्वलाई अतुलनीय र प्रेरणादायी बताउँदै ओलीले पार्टीभित्रको प्रेम, विश्वास र भरोसा अझ सुदृढ हुँदै उज्यालो भविष्यतर्फ सामूहिक यात्रा अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।

 

प्रिय केन्द्रीय कमिटीका कमरेडहरु,
अभिवादन 🙏
२०७८ साल मंसिर १० गते लाखौँ जनताको अद्भुत उपस्थितिमा,
देवघाटको पवित्र आँगन, नारायणीको शान्त बहाव र हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको दशौँ महाधिवेशन- यी सबै कुनै संयोग मात्रै थिएनन् । ती क्षणहरू हाम्रो सामूहिक संकल्प, तपस्या र देशसेवाको व्रतलाई साक्षी राख्ने दिव्य स्थल थिए ।
त्यहि पवित्र भुमिबाट महाधिवेशनपछि हामीले पार्टी निर्माण र देश निर्माणको यात्रालाई एकैसाथ, दृढतासाथ अघि बढायौँ !
त्यही पवित्र भूमिबाट हामीले पार्टी निर्माण र देश निर्माणको यात्रालाई नवऊर्जा, नवविश्वास र नवप्रेरणासहित एकसाथ अघि बढाएका थियौं ।
यस यात्रामा कठिनाइ आएनन् भन्ने होइन ! केही साना अनि ठूला चुनौती र बाधाहरूले हामीलाई बारम्बार परीक्षा लिए तर पार्टी अविचलित रह्यो केकालागि भन्दा देशका लागि ! जनताका लागि, जनजीवन परिवर्तन गर्ने महान लक्ष्यका लागि ।
केन्द्रीय सदस्यको रूपमा मैले पाएको जिम्मेवारी, साथीसंगी कमरेडहरूले दिएको साथ र पार्टीप्रति झन झन गहिरिँदै गएको समर्पण यी सबै मेरा जीवनका महत्वपूर्ण धरोहर बने ।
प्रिय कमरेडहरु,
केन्द्रीय सदस्यका रूपमा मैले बुझेको, सिकेको र अनुभूत गरेको कुरा अमूल्य छ ! केन्द्रीय कमिटीका बैठकहरूले मलाई धेरै सिकाए, धेरै बुझाए र धेरै परिपक्व बनाए । हामी सबैले देश, जनता र जीवनस्तर उकास्ने विषयमै मन, मस्तिष्क र प्रयास केन्द्रित गर्यौँ । दशौँ केन्द्रीय कमिटी बैठकसम्मको हाम्रो सामूहिक यात्रा सम्झँदा प्रत्येक कमरेडप्रतिको कृतज्ञता हृदयदेखि उम्लिन्छ ।
जेन्जीको नाममा मेरो घर–परिवार र व्यवसायमाथि भएको आक्रमण, लुटपाट र आगजनीका कठिन दिनहरूमा मेरो साथमा उभिएर हात समाइदिने, ढाडस भरीदिने,अटल समर्थन जनाइदिने, आँसुले भरिए पनि हौसला नघटाइ दिने सबै प्रिय कमरेडहरूको माया, आत्मीयता र ऐक्यबद्धता म कहिल्यै बिर्सन सक्दिन । त्यो व्यवहार केवल राजनीतिक सम्बन्ध थिएन त्यो त आत्मीक र विश्वासको पवित्र धरोहर थियो ।
दशौँ महाधिवेशनले निर्माण गरेको नेतृत्व वास्तवमै अतुलनीय र प्रेरणादायी थियो । प्रिय कमरेडहरु हामी जहाँ रहे पनि जति टाढा पुगे पनि हाम्रो प्रेम, आस्था, विश्वास र भरोसा कहिल्यै कमजोर नहोस्, कहिल्यै नटुटोस ।
आगामी दिनहरूमा हाम्रो सम्बन्ध अझ गाढा होस !
हाम्रो विश्वास अझ दृढ होस् !
र हाम्रो सामूहिक यात्रा अझ उज्यालो भविष्यतिर अघि बढिरहोस् यही कामना ।
प्रिय CCM कमरेडहरू प्रति हार्दिक सम्मान र शाश्वत कृतज्ञता ।
कोमल ओली
केन्द्रीय सदस्य दाङ 🙏

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्