तुलसीपुरमा दुई दिने पालिका-स्तरीय लैङ्गिक समानता तालिम सम्पन्न



महिला पुनर्स्थापना केन्द्र ओरेक, दाङ को आयोजनामा तुलसीपुर उपमहानगरपालिकामा दुई दिने पालिका-स्तरीय तालिम सम्पन्न भएको छ। बैशाख ९ र १० गते आयोजित उक्त तालिममा स्थानीय तहका विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिममा तुलसीपुर उपमहानगरपालिकाका विषयगत समितिका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरू, न्याय समिति, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू तथा ट्राफिक प्रहरीहरू गरी जम्मा २० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा लैङ्गिक समानता तथा महिला सशक्तीकरण (GEWE) र अन्तर्राष्ट्रिय महिला अधिकारसम्बन्धी विषयहरूमा सहजीकरण गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा लैङ्गिक दृष्टिकोण समावेश गरी योजना निर्माण गर्ने विषयमा ज्ञान र अनुभव आदानप्रदान गरेका थिए।

तालिम प्रभावकारी रहेको उल्लेख गर्दै ओरेक दाङकी संयोजक कल्पना चौधरीले योजना तर्जुमा हुने महत्वपूर्ण समयमा तालिम आयोजना गरिएकाले तुलसीपुर उपमहानगरपालिकामा लैङ्गिक मैत्री योजना निर्माण गर्न सहज हुने निष्कर्ष निकालिएको बताउनुभयो।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्