
रामप्रसाद सुवेदी
दाङको बबई गाउँपालिकामा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि सुक्ष्म योजना अद्यावधिक सम्बन्धी पालिका स्तरीय खोप समन्वय तथा सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बम कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेल, प्रवक्ता तिलकराम भण्डारी, वडा नं. १ का अध्यक्ष प्रेम बहादुर डाँगी, बबई गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विषयगत शाखाका प्रमुखहरू र पत्रकारहरूको उपस्थिति थियो।
स्वास्थ्य शाखा प्रमुख हरि बहादुर खड्काले सञ्चालन गरेकाे उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय, दाङका खोप फोकल पर्सन भानुज्योति वलीले नियमित खोप कार्यक्रमको प्रभावकारिता बढाउन आवश्यक स्थानीय रणनीति, समन्वय र स्रोत परिचालनका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।
साथै कार्यक्रममा खोप सेवाको पहुँच र गुणस्तर सुधार गर्न सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। कार्यक्रममा आगामी दिनहरूमा सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्दै सुक्ष्म योजना अद्यावधिक र कार्यान्वयनमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

