
लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, तुलसीपुरले विपद् जोखिम न्यूनीकरणका लागि सचेतना अभियान तीव्र बनाएको छ। तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार संघको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न भयो।
प्रहरी नायव निरीक्षक बालाराम केसीले आगलागी, बाढी, पहिरो, डुबान र चट्याङ जस्ता विपद् विषयमा प्रशिक्षण दिनुभयो। उहाँले आगलागी हुँदा अपनाउने उपाय, ग्यास सिलिन्डर लिक भएमा निभाउने तरिका र आपतकालीन योजना निर्माणबारे जानकारी दिनुभयो।
प्रहरी सहायक हवलदार धनबहादुर चलाउनेले ग्यास, मट्टीतेल जस्ता प्रज्वलनशील वस्तुहरू सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो। सानो आगो फायर एक्स्टिङ्गुइशरले निभाउन सकिने तथा शरीर पोल्दा हावा नछिर्ने कपडाले बेर्न सकिने उपायसमेत बताउनुभयो।
संघका अध्यक्ष विनिल केसीले यस्ता कार्यक्रम व्यापारीहरूलाई सचेत बनाउन र विपद् प्रतिकार्यमा जुटाउन आवश्यक भएको बताउनुभयो।

