दाङमा भदौ २ देखि १२ हजार जनालाई कोरोना खोप दिइने



दाङ जिल्लामा आगामी भदौ २ देखि ४ गतेसम्म करिब १२ हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा ९५ खोप केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन भानुज्योति ओलीका अनुसार घोराही उपमहानगरपालिकाका १५ खोप केन्द्रमार्फत २ हजार ४ जना, तुलसीपुर उपमहानगरपालिकाका २५ खोप केन्द्रमार्फत ५ हजार ४ जना र लमही नगरपालिकाका ८ खोप केन्द्रमार्फत ९६० जनालाई खोप दिने तयारी गरिएको छ ।

त्यस्तै, राप्ती गाउँपालिकाका ९ खोप केन्द्रमा १ हजार २० जना, गढवा गाउँपालिकाका ९ केन्द्रमै १ हजार २० जना, राजपुर गाउँपालिकाका ४ खोप केन्द्रमा २०४ जना, बंगलाचुली गाउँपालिकाका ८ केन्द्रमा ३०० जना, बबई गाउँपालिकाका ४ केन्द्रमा २९४ जना, शान्तिनगर गाउँपालिकाका ५ केन्द्रमा ५०० जना र दंगीशरण गाउँपालिकाका ७ खोप केन्द्रमा ६९६ जनालाई खोप दिने योजना छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङले तोकिएको मितिमा सबै पालिकामा खोप उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका १२ वर्ष वा सोभन्दा माथिका बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइनेछ ।

 

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्