
पछिल्लो ६ घण्टामा दाङ, बाँके र बर्दियाका विभिन्न स्थानमा लगातार ठूलो पानी परेपछि बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी; बाँकेको पश्चिम राप्ती र सिक्टा; तथा बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको हो। यसले गर्दा ती क्षेत्र हुँदै बहने नदी–नाला तथा ससाना खोलाहरूमा पानीको बहाव एक्कासी बढ्न सक्ने अनुमान गरिएको छ।
विभागले ती क्षेत्रका नदी किनार तथा होचो भूभागमा डुबानको सम्भावना रहेको भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
यस्तै, आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही भागमा समेत ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा पनि बाढी तथा डुबानको जोखिम रहेको विभागले जनाएको छ।

