
दाङको तुलसीपुर उपमहानगरपालिका २ मा रहेका कृषि सहकारी संस्थाका पदाधिकारी तथा लेखा प्रमुखहरूका लागि सहकारी व्यवस्थापन, ऋण लगानी तथा ऋण असुलीसम्बन्धी दुईदिने तालिम सुरु भएको छ।
तुलसी सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका २ का वडा अध्यक्ष भीमबहादुर योगीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।
सहकारी संस्थाको व्यवस्थापनलाई प्रभावकारी बनाउने, वित्तीय कारोबार व्यवस्थित गर्ने, सुरक्षित रूपमा ऋण लगानी गर्ने तथा ऋण असुलीलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हाे ।
तालिममा सहकारी व्यवस्थापन, लेखा तथा वित्तीय व्यवस्थापन, ऋण लगानीका आधार, ऋण जोखिम व्यवस्थापन र ऋण असुलीका प्रभावकारी उपायलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।
तालिमले कृषि सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने आयोजकले जनाएको छ।

