मलेसियाको कोलालाम्पुर विमानस्थलमा निधन भएका तुलसीपुर-११ बेलगनारका रुपलाल चौधरीको शव आज नेपाल आइपुगेको छ । आज सोमबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुगेको हो । शव हाल दाङतर्फ ल्याइँदै गरेको स्थानीय घनश्याम चौधरीले जानकारी दिनुभयो ।
रुपलालका भाइ लोकमणि चौधरीका अनुसार आर्थिक अभावका कारण शव नेपाल पठाउन समस्या भएको थियो । आफन्त, इष्टमित्र, र साथीभाइको सहयोगबाट शव नेपाल पठाइएको उहाँले बताउनुभयो ।
शव पठाउन आवश्यक ५ हजार ५ सय रिंगेट मागिएको थियो । आर्थिक सहयोगको लागि मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा दूतावासले सहयोग जुटाउन नसके शव नेपाल नजाने बताएका थिए । तर सामाजिक सञ्जालमार्फत अपिल गरेर संकलित रकमले शव नेपाल पठाउन सफल भएको लोकमणिले बताउनुभयो । शव नेपाल सम्म ल्याउनको लागि तीन हजार रिंगेट लागेको उहाँले बताउनुभयो ।
यता शव दाङसम्म ल्याउन वैदेशिक रोजगार बोर्डले गाडीको व्यवस्था गरेको छ । शव भोली बिहानसम्म दाङ आइपुग्ने र मंगलवार नै दाहसंस्कार गरिने जानकारी घनश्याम चौधरीले दिनुभयो । ४४ वर्षीय रुपलाल ४ वर्षअघि वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । घर फर्कने क्रममा भदौ २२ गते विमानस्थलमा मृत्यु भएको थियो। उनका परिवारमा आमा, श्रीमती, र दुई छोरा रहेका छन् ।
वडा कार्यालयमार्फत वैदेशिक रोजगार बोर्डलाई शव सहजै नेपाल पठाउने व्यवस्था मिलाइदिन पत्राचार गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।