राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रभावकारी युरोलोजी सेवा सञ्चालन



दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा प्रभावकारी बन्दै गएको छ। युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाको नेतृत्वमा डा. विवेक थापा, डा. पंकज नेपालीसहितको टोलीले साना–ठूला शल्यक्रियाहरू नियमित रूपमा गर्दै आएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार दैनिक ७० भन्दा बढी बिरामीले युरोलोजी ओपिडीमार्फत परामर्श सेवा लिइरहेका छन्। जेठदेखि असोज मसान्तसम्म २७७ जना बिरामीले सेवा प्राप्त गरेका छन्।

डा. खनियाका अनुसार सो अवधिमा १५७ जना मिर्गौलाको पत्थरीका बिरामीको गम्भीर प्रकृतिको शल्यक्रिया, २२ जना मध्यम र ९९ जना सामान्य अप्रेसन गरिएको छ।

अत्याधुनिक उपकरणसहित सेवा सुरु भएपछि बिरामीहरूलाई अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ। युरोलोजी सेवाअन्तर्गत मिर्गौला, पिसाब, प्रोष्टेट, पित्तथैली, अण्डकोषलगायतका रोगहरूको उपचार भइरहेको छ।

प्रतिष्ठानका निमित्त निर्देशक प्रा. डा. जनार्दन पन्थीले स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा बिरामीहरू खुसी भएका बताउनुभयाे। डा. खनिया यसअघि राप्ती प्रादेशिक अस्पतालमा लामो समय युरोलोजी सेवा प्रदान गरेका अनुभवी चिकित्सक हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्